काठमाण्डौं, ७ पुस ।
सुर्खेतको गुठुमा स्थापना गर्न लागिएको चौकुने सिमेण्ट मुक्तिश्री सिमेन्टमा ४ अर्ब लगानी गर्ने उद्योगका संचालक अजेयराज सुमार्गीले घोषणा गरेका छन् । आइतबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरी सुमार्गीको समूहले दुई वर्षभित्र मुलुकका बिभिन्न उद्योगमा २३ अर्ब लगानी गर्ने घोषणा गरेको हो ।
समूहले मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिको नामबाट सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्ने जनाएको छ । जसले दैनिक १ हजार २ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्नेछ ।
विदेशी साझेदार र आन्तरिक कर्जाबाट स्रोत जुटाई उद्योगहरु लगानी गर्न लागेको सुमार्गी समूहले जनाएको छ । मुक्तिश्री प्रालि मार्फत स्याटेलाइट टेलिकम, जलविद्युत, होटल, सिमेन्ट र सुपरस्टोर लगायतका पाँच उद्योगमा २३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्न लागेको समूहका अध्यक्ष अजेयराज सुमार्गीले जानकारी दिए ।
नेपाल स्याटेलाइट टेलिकममा थप ६ अर्ब ५० लाख, धादिङको आँखुखोला हाइड्रोमा साढे ५ अर्ब, काठमाडौंमा पाँचतारे होटलमा ५ अर्ब, र इन्फ्रा कम्पनीमा ३ अर्ब लगानी गर्ने कम्पनीले जनाएको छ ।
अध्यक्ष सुमार्गीका अनुसार थप गरिएको लगानीबाट ४ वटा नयाँ उद्योगहरु सञ्चालनमा आउने छन् । सबै उद्योगबाट १५ हजार जनाले रोजगारी पाउने सुमार्गीले जानकारी दिए । सात अर्ब लगानी भइसकेको नेपाल स्याटेलाइट टेलिकममा थप साढे ६ अर्ब रुपैयाँ लगानी गरेर मुलुकभर सेवा विस्तार गर्ने योजनामा रहेको उनको भनाई छ ।
आगामी वर्ष २०१४ को फेब्रुअरीसम्म नेपाल स्टेलाइटको सेवा मुलुकभर विस्तार गरिसक्ने लक्ष्य राखिएको छ । नेपाल स्याटेलाइटले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा संचालन गरिरहेको छ ।
आगामी ४ वर्षभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित धादिङमा ३५ मेगावाट क्षमताको आँखुखोला जलविद्युत आयोजन निर्माण गर्ने सुमार्गीले घोषणा गरे । राजधानीमा खोलिने पाँच तारे होटलमा समूहले विदेशी लगानी भित्राउने लक्ष्य राखेको छ । यूरोपको प्रसिद्ध अन्तर्राष्ट्रिय चेन होटलसँग आवद्ध भएर उक्त होटल निर्माण गर्न लागिएको उनले जानकारी दिए । साझेदारी गर्न लागिएको चेन होटलको नाम भने खुलाइएको छैन ।
आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै सुमार्गीले १८ अर्ब रुपैयाँ बिदेशी लगानी ल्याउन लागिएको र अन्य आन्तरिक स्रोतबाट ब्यबस्थापन गरिने बताए । सन २०१६ सम्ममा २३ अर्ब रुपैयाँ थप लगानी गरिसक्ने बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सन २०१६ को अन्त्यसम्म होटल सञ्चालनमा आइसक्ने छ । होटल सरकारले तोकेको मापदण्डभित्र रहेर निर्माण गरिनेछ । २ सय २० वटा कोठाहरु रहने होटलमा ५ अर्ब लगानी हुने अनुमान समूहले गरेको छ । नेपाल इन्फ्रा प्रालिका नामबाट मिनभवनमा सुपरस्टोर सञ्चालन गर्न लागेको बताउँदै सुमार्गीले चितवन, हेटौंडामा पनि सुपरस्टोर सञ्चालन गर्दै जाने बताए ।
No comments:
Post a Comment