सुर्खेत, २९ मंसिर ।
आगामी पुस ९ गतेदेखि ललितपुरमा संचालन हुने राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रबाट १३ खेलाडी छनौट गरिएको छ । सुर्खेतमा शनिवार भएको छनौट खेलबाट पुरुष ७ जना र महिला ६ जना छनौट भएका हुन् ।
छनौट हुने खेलाडीहरुमा पुरुषतर्फ ४९ केजी तौल समूहमा नरेन्द्र गुरुङ (रोल्पा), ५२ केजीमा ज्योति थापा (रोल्पा), ५६ केजीमा समुन्द्र केसी (बाँके), ६० केजीमा बसन्त हमाल (सुर्खेत), ६४ केजीमा राजबहादुर रोकाय (सुर्खेत), ६९ केजीमा ताराप्रसाद पुनमगर (रोल्पा) र ७५ केजीमा दुर्गबहादुर पुन (सुर्खेत) रहेका छन् ।
यस्तै महिलातर्फ ४६ केजी तौल समूहमा रमा विके (दाङ), ४८ केजीमा पुष्पा शाही (जुम्ला), ५२ केजीमा गीता थापा (दाङ), ५४ केजीमा कृष्णा सुनार (दाङ), ६० केजीमा पवित्रा घर्तीमगर (दाङ) र ६४ केजीमा सोनाम रोकाय (दाङ) छनौट भएको जिल्ला बक्सिङ संघ सुर्खेतका अध्यक्ष दिलिपसिंह ठकुरीले जनाए ।
छनौट कार्यक्रम बक्सिङ संघका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला खेलकुद विकास
समितिका अध्यक्ष डिल्ली सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगितामा मध्यपश्चिम क्षेत्रका सुर्खेत, दाङ, रोल्पा, बर्दिया, बाँके, दैलेख, जाजरकोट र जुम्ला गरी ८ जिल्लाका ३० खेलाडीहरुको सहभागिता रहेको संघ सुर्खेतका अध्यक्ष ठकुरीले जानकारी दिए ।
No comments:
Post a Comment