सुर्खेत, १ पुस ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७१÷०७२ का लागि १० करोड ५८ लाख बराबरको वजेट प्रस्ताव गर्ने भएको छ । यो वजेट चालु आर्थिक बर्षको भन्दा एक करोड बढी रकम हो । नगरपालिकाले सोमबार वीरेन्द्रनगरमा आगामी वर्षको लागि नीति, वजेट, योजना तथा कार्यक्रम तर्जुमा विषयक पूर्व योजना तर्जुमा गोष्ठी आयोजना गरी आगामी वर्षका लागि माथि उल्लेखित रकम प्रस्ताव गरिने जनाएको छ ।
जसमा चालुतर्फ ३ करोड १८ लाख र पूजिँगत तर्फ ७ करोड ४० लाख बराबरको वजेट प्रस्ताव गरिनेछ । आव ०६९÷०७० मा ८ करोड ७३ लाख र चालु आवमा ९ करोड ५० लाख नगरपालिकाको वजेट रहेको छ । आगामी आवका लागि कृषि सडकका लागि ३० लाख, सडक वार्डका लागि ३५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिने नगरपालिकाले जनाएको छ ।
प्रस्तावित वजेटको निधो गरिसकेको नगरपालिका यतिखेर गाउँ र वस्ति स्तरको योजना छनौटमा जुटेको छ । पुस मसान्त भित्रै नगरपरिषद सम्पन्न गरीसक्नुपर्ने कानुनी प्रावधान रहेकाले यतिबेला बस्तीस्तरको योजना छनोटको चटारो रहेको नगरपालिकाका प्रशासन तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए ।
पूर्व योजना तर्जुमा गोष्ठीमा विभिन्न क्षेत्रका व्यक्तिहरुले सही र वास्तवीक योजना छनौट हुनपर्नेमा जोड दिएका छन् । वस्तीस्तरबाटै योजना छनोट नगर्दा योजनाको दिगोपना र प्रभावकारीता नरहने उनीहरुको भनाई छ । कार्यक्रममा राप्रपा नेपालका बलबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाको कर्ण नेपाली, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष श्रीधर पौडेल लगायतले भनाई राखेका थिए ।
No comments:
Post a Comment