सुर्खेत, १७ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले कार्यालयमा परेका उजुरीमाथि प्रारम्भिक अनुसन्धान थालेको बताए । आयोगको क्षेत्रीय कार्यालयमा क्षेत्रीय प्रशासन कार्यालय र विभिन्न जिल्ला प्रशासन कार्यालयबाट २ सय ४० वटा उजुरी सरेर आएका छन् ।
त्यस्तै केन्द्रीय कार्यालयबाट प्राप्त भएका ४४ र सुर्खेतमा कार्यालय स्थापना भएपछि परेका ३० वटा गरी अहिले ३ सय १४ वटा उजुरीमाथी छानविन भैरहेको क्षेत्रीय प्रमुख मुकुन्द्रराज पन्थीले बताए । क्षेत्रीय प्रशासन कार्यालयबाट ६१, जिल्ला प्रशासन कार्यालय बाँकेबाट ५८, सुर्खेतबाट ३५, दाङबाट २९, मुगुबाट १५, बर्दियाबाट ४ वटा उजुरी परेर आएको बताइएको छ ।
मध्यपश्चिम क्षेत्रका जाजरकोट र प्युठान जिल्ला प्रशासन कार्यालयबाट भने अहिलेसम्म कुनै उजुरी परेर नआएको कार्यालयले जनाएको छ । कार्यालयमा सवैभन्दा बढी शिक्षासँग सम्वन्धित एक सय वटा, स्थानीय मन्त्रालयसँग सम्वन्धित ७८, वन मन्त्रालयसँग सम्वन्धित ४७ वटा उजुरी परेका छन् ।
बाँकी उजुरी भने स्वास्थ्य, भुमिसुधार, सहरी विकास, सिँचाई लगायतका मन्त्रालयसँग सम्वन्धि रहेका छन् । क्षेत्रीय प्रमुख पन्थीले प्रारम्भिक अनुसन्धानबाट दोषी देखिए उजुरीमाथी विस्तृत अनुसन्धामन गरी कारवाहीको लागि केन्द्रमा सिफारिस गर्ने बताए ।
छात्रबृत्तिको रकम हिनामिना, निर्माण कार्य गुणस्तरहिन भएको, गाविस सचिवले रकम दुरुपयोग गरेको, दोहोरो तलब खाएको, विल मिलाएर खाएको जस्ता उजुरी परेको कार्यालयले जनाएको छ । गंम्भिर प्रकृतिका मुद्धामा प्रमाण जुटाउनु पर्ने भए कार्यालयबाटै कर्मचारी खटाएर अनुसन्धान गरिने समेत प्रमुख पन्थीले बताए ।
आयोगको कार्यालयले अघि बढाएको अनुसन्धानमा सवैले सहयोग गर्नुपर्ने भन्दै उनले असहयोग गर्नेलाई कारवाही हुने चेतावनी समेत दिए । त्यसैवीच अख्तियार दुरुपायोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले बाँकेको कोहलपुरमा सम्पर्क कार्यालय खोल्ने तयारी भैरहेको जनाएको छ ।
बाँके, बर्दिया र दाङमा काम गर्न सजिलो होस भन्ने उद्देश्यले सम्पर्क कार्यालय खोल्ने तयारी भैरहेको क्षेत्रीय प्रमुख मुकुन्द्रराज पन्थीले बताए । उनले आयोगको काम काजलाई छिटो छरितो र प्रभावकारी बनाउनको लागि छिट्टै सम्पर्क कार्यालय खोलिने जानकारी दिए ।
No comments:
Post a Comment