सुर्खेत १७ मंसिर ।
सुर्खेतमा हुन गइरहेको क्षेत्रीय औद्योगीक महोत्सब–२०७० को तयारी तीब्र पारिएको छ । महोत्सवका लागी प्रचार–प्रसार र स्टल निर्माण लगाएतका कार्यलाई तिब्रता दिईएको छ । समग्र विकासमा नयाँ कल्पना, संवृद्ध मध्यपश्चिम हाम्रो चाहना’ भन्ने नाराका साथ सुर्खेतमा नेपाल व्यापार तथा पर्यटन मेला–२०७० हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको सहयोगमा देशका चार विकास क्षेत्रमा गर्न लागेको क्षेत्रीय औद्योगिक व्यापार मेला अन्तर्गत सुर्खेतमा यही मंसिर २८ देखि पुष ७ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।
पूर्वाञ्चलको मेची, पश्चिमाञ्चलको बुटवल र सुदूरपश्चिमको कञ्चनपुरमा समेत क्षेत्रीय महोत्सव गर्न लागेको महासङ्घले जनाएको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोनजामा हुने यो महोत्सवमा जिल्ला विकास समिति सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम क्षेत्रका सबै उद्योग वाणिज्य सङ्घ सहआयोजक रहनेछन् ।
मेलामा पाचदेखि सात लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदमबहादुर शाहीले मेलामा हस्तकला, कृषि, वन पैदावर, सांस्कृतिक वेशभूषा, खाना, सूचना प्रविधि सहितका स्वदेशी तथा विदेशी उत्पादन गरी तीन सय प्रदर्शनी कक्ष रहने जानकारी दिए ।
महोत्सवमा राउटे नाँच, सोरठी, झोडा, नौली हदेली जस्ता नाच सांस्कृतिक कार्यक्रम हुने महोत्सबमा मुगुको रारा, दैलख र सुर्खेतका पर्यटकीय स्थलको अवलोकनका लागि हेलिकप्टरको समेत प्रबन्ध गरिने अध्यक्ष शाहीले बताए ।
मेला अवधिमा मध्यपश्चिममा सम्भावित लगानीका अवसरबारे विज्ञहरुको सहभागितामा छलफल हुनेछ । मध्यपश्चिमका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने, व्यावसायिक चेतना बढाउने, लोक संस्कृतिको जगेर्ना, कृषि क्षेत्र र जडीबुटी पेसालाई व्यावसायिक रुपमा प्रचार गरी स्थानीय उत्पादन तथा सेवाको उपभोगको चाहना अभिवद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएका छन् ।
No comments:
Post a Comment