Saturday, December 28, 2013

प्रशासनीक भवनमा तालाबन्दी

सुर्खेत १२ पुस । 
शुल्क घटाउनु पर्ने एक शुत्रीय माग राख्दै आन्दोलनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगत मानविकी संकायका विद्यार्थीहरुले शुक्रबार समकालिन अध्ययन महाविद्यालय (पुराने वीरेन्द्रनगर बहुमुखी क्याम्पस) को प्रशासनीक भवनमा तालाबन्दी गरेका छन् ।

तोकिए अनुसारको सेवा सुविधा दिन तर्फ विश्वविद्यालयको छाँट नभएको भन्दै अनुचित रुपमा शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरुले भद्र रुपमा गरिएको आन्दोलनको पदाधिकारीहरुले वेवास्था गरेको भन्दै तालाबन्दी गरेका हुन् । तालाबन्दीसंगै  
विश्वविद्यालयको नयाँ भर्ना तथा अन्य प्रशासनीक कामकाजमा असर पुगेको छ । मानविकि प्रशासनमा ताला लागेपछि पहिलो सेमेस्टरको भर्ना कार्यक्रम रोकिनुका साथै दोस्रो सेमेस्टरको परीक्षाको लागि खोलिएको परीक्षा फाराम भर्ने काम पनि अवरोध भएको छ । विश्वविद्यालयले यही पुसको २५ गतेसम्म मात्रै परीक्षा फाराम भर्न सूचना निकालेको छ । विद्यार्थीहरुले विहीबारसम्म शुल्क घटाउन भन्दै समय दिएकोमा विद्यार्थीहरुको मागका बारेमा विश्वविद्यालयको प्रतिक्रिया नै नआएकोले तालाबन्दी गरिएको आन्दोलनरत विद्यार्थीहरुले दाबि गरेका छन् । पत्रकारिता, द्वन्द्व र शान्ति अध्ययन, सोसियल वर्क एमए तथा विए र अन्तराष्ट्रिय सम्बन्धका विद्यार्थीहरुले यस अघि नै आन्दोलनको पहिलो चरणअनुरुप सम्बन्धित संकायका प्राज्ञिक निर्देशकमार्फत् उपकुलपतिको ध्यानाकर्षण गराइसकेका थिए । द्वन्द्व र शान्ति अध्ययनका विद्यार्थीहले यसअघि विश्वविद्यालयले लिएको मिड टर्म परीक्षासमेत बहिस्कार गरिसकेका छन् । पत्रकारिताको स्नातक तहमा मासिक शुल्क दुई हजार छ भने द्वन्द्व र शान्ति अध्ययनको स्नातकोत्तर तहमा मासिक तीन हजार र अन्तराष्ट्रिय सम्बन्ध तथा सोसियल वर्कको पनि उति नै शूल्क रहेको छ । विद्यार्थीहरुले कक्षा शुरु भएदेखि नै शूल्क घटाउन आन्दोलन गरेपनि मानविकि संकायका नयाँ विषयहरु पत्रकारिता द्वन्द्व र शान्ति अध्ययन, अन्तराष्ट्रिय सम्बन्ध र सोसियल वर्कको शूल्क घटाइएको थिएन । यता, नेपाल विद्यार्थी संघले पनि विश्वविद्यालयका पदाधिकारीका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यालयमा अनिश्चतकालिन तालाबन्दी गरेको छ । विश्वविद्यालयले भने यतिवेला दोस्रो सभाको तयारी गरिरहेको बताएको छ । यसकाबीच पनि विद्यार्थीहरुका मागहरु सम्बोधन गर्न समिति गठन गर्ने तयारी विश्वविद्यालयको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो सभा पनि सुर्खेतमा नहुँने निश्चित भएको छ । पहिलो सभा गर्दा विश्वविद्यालयका पदाधिकारीहरुले दोस्रो सभा केन्द्रीय कार्यालय रहेको सुर्खेतमै गर्ने प्रतिबद्धता गरेको भएपनि यसपटक पनि सभा काठमाडौंमा नै गर्न लागिएको हो । यस पटक पनि विश्वविद्यालयका कुलपतिको समय नमिलेको र सभा यही पुसको मसान्तसम्म गर्नुपर्ने भएकोले सुर्खेतमा सभा नहुँने भएको हो । सभाको लागि कुलपतिलाई जानकारी गराइएपनि समय नमिलेकोले सुर्खेतमा सभा गर्ने सम्भावना नभएको विश्वविद्यालयका रजिष्ट्रार ठकेन्द्रप्रकाश गिरीले बताए । आफूहरुले सभा सुर्खेतमै गर्न चाहेको भएपनि कुलपतिको समयकै कारण असम्भव भएको रजिस्ट्रार गिरीको भनाइ छ । 

No comments:

Post a Comment