Thursday, December 26, 2013

३९ प्रतिशत महिला घरमै प्रसुती गराउँन बाध्य

सुर्खेत, ११ पुस । 
सुरक्षित प्रसुती बढाउन सरकारले प्रसुती गराउन आउने महिलाका लागि विभिन्न सेवा सुविधा मार्फत आकर्षण गरेपनि सुर्खेतमा झण्डै ४० प्रतिशत प्रसुती स्वास्थ्य संस्था बाहिर गराउने गरेका छन् । 
‘सत प्रतिशत संस्थागत प्रसुती आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सरकारले मातृ सुरक्षा कार्यक्रम मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सरकारले स्वास्थ्य संस्थामा प्रसुती गराउन आए वापतको यातायात भाडा स्वरुप ५ सयदेखि १५ सय सम्म दिने गरेको छ । त्यस्तै नियमित गर्भजाँच वापत पनि चार सय रुपैयाँ उपलब्ध गराइन्छ ।  
त्यसले स्वास्थ्य संस्थामा प्रसुती गराउनको संख्यामा बृद्धि भएपनि अझै ठूलो संख्यामा गर्भवती महिलाहरुले घरमा नै प्रसुती गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । गत आर्थिक बर्षमा सुर्खेत जिल्लामा रहेका प्रसुती महिला मध्ये ६१ दशमलव ३ प्रतिशतले मात्रै स्वास्थ्य संस्थामा प्रसुती गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयको विगत तीन बर्षको तथ्याङ्कलाई हेर्ने हो भने स्वास्थ्य संस्थाबाट प्रसुती  सेवा लिनेको संख्या भन्दा प्रसुती पछिको सेवा लिनेको संख्या बढि छ । जसले अझै कतिपय महिलाहरुले स्वास्थ्य संस्था बाहिर नै प्रसुती गराई प्रसुतीपछिको सेवा लिन मात्रै आएको जनाउँछ । 
कार्यालयको विगत तीन बर्षको पहिलो चार महिनाको तथ्याङ्क अनुसार २०६८÷०६९ मा ६७ प्रतिशत महिलाहरुले स्वास्थ्य संस्थामा प्रसुती गराएका थिए भने प्रसुती पछिको सेवा लिने ६९ प्रतिशत रहेका थिए । ०६९÷०७० मा ६६ प्रतिशत प्रसुती गराउन आएका थिए भने ७१ प्रतिशतले प्रसुती पछिको सेवा लिएका थिए । 
०७०÷०७१ मा ३१ प्रतिशतले स्वास्थ्य संस्थामा प्रसुती गराएकोमा ३५ प्रतिशतले प्रसुती पछिको सेवा लिएका  छन् । यस बर्षको तथ्याङ्क भने क्षेत्रीय अस्पतालमा सेवा लिने बाहेकको संख्या हो । स्वास्थ्यका दृष्टिकोणले गर्भवती महिलाले सुत्केरी हुनु अघि स्वास्थ्य संस्थामा गई कम्तिमा अनिवार्य रुपमा चार पटक गर्भ जाँच गराउनु पर्ने हुन्छ । जिल्ला जन स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पहिलो चार महिनामा गर्भ जाँच गराउन आउने महिलाहरुको तुलनामा त्यसपछिका जाँच गर्ने चरण र  प्रसुती गराउन आउँनको संख्या समेत कम रहेको छ । 
यसले सबै गर्भवती महिलाहरुले नियमित गर्भजाँच गराउँदैनन् भन्ने जनाउँछ । सबै गर्भवती महिलाहरुले अनिवार्य रुपमा चार पटक गर्भजाँच गराउनु पर्ने भएपनि अझै कतिपय गर्भवती महिलाहरुले नियमित गर्भजाँच नगराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय मातृ सुरक्षा कार्यक्रम शाखाकी रेणुसिंहले जानकारी दिइन् । सिंहका अनुसार २०६८÷०६९ को पहिलो चार महिनामा ८९ प्रतिशतले पहिलो गर्भ जाँच गराएका थिए भने ६५ प्रतिशतले मात्रै चौँथो पटक जाँच गराएका थिए । 
०६९÷०७० मा पहिलो पटक गर्भ जाँच गराउनेको प्रतिशत ८६ रहेकोमा चौंथो पटक  ५६ प्रतिशतले गर्भजाँच गराएका थिए । त्यस्तै ०७०÷०७१ मा ६१ प्रतिशतले पहिलो गर्भ जाँच गराएकोमा ४० प्रतिशतले चौंथो पटक गर्भजाँच गराएका थिए । शाखाकी सिंहले असुरक्षित प्रसुती न्यूनीकरण गर्नका लागि टोलका महिला स्वास्थ्य स्वयंसेविका मार्फत गाउँमा रहेका गर्भवती महिलाहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई स्वास्थ्य संस्था पठाउने  गरिएको जानकारी दिइन् । 
जिल्लाका ४० स्थानमा बर्थिङ सेन्टरहरु छन् भने हाल ३७ गाविस र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरी ३८ स्थानमा सञ्चालनमा छन् । क्षेत्रीय अस्पताल नजिक भएकाले लाटीकोइली र कटकुवामा रहेको बर्थिङ सेन्टर भने सञ्चालनमा नरहेको सिंहले जानकारी दिइन् । उनले हाल वेतान, पोखरीकाँडा, धारापानी, साटाखानी, आग्रीगाउँ, घोरेटा, खानीखोला, रजेना, रानीवास, पाम्का, रतु र उत्तरगंगा बाहेकका सबै गाविसमा बर्थिङ् सेन्टर रहेको बताइन् ।  
स्वास्थ्य संस्था बाहिर असुरक्षित रुपले प्रसुती गराउँदा अध्याधिक रक्तश्राबका कारण आमा र शिशुको मृत्यु हुन सक्ने तथा विभिन्न किसीमका संक्रमण र वेहोस भएर समेत मृत्यु हुन सक्ने बताउँदै सिंहले स्वास्थ्य संस्थामा नै पुगेर प्रसुती गराउनु पर्ने बताइन् । 
बर्थिङ सेन्टर अर्थात संस्थागत प्रसुती गराउनु मातृ शिशु मृत्युलाई घटाउनु पनि एउटा प्रमुख लक्ष्य भएको बताउँदै सिंहले मातृ शिशु  मृत्युको संख्या घट्दै गएको भएपनि घरमै प्रसुती गराउनुले मृत्युदर शुन्यमा पु¥याउन चुनौती थपिएको बताइन् । मातृ शिशु मृत्युका प्रमुख कारणहरु मध्येको एक प्रमुख कारण असुरक्षित प्रसुती पनि रहेको बताइन्छ । 
जिल्लामा प्रयाप्त बर्थिङ् सेन्टर सञ्चालन गरिनु तथा प्रोत्साहन गरिदाँ पनि घरमै प्रसुती गराउने परम्परालाई अन्त्य गर्न संस्थागत प्रसुतीका फाइदा र घरमै प्रसुती गराउँदाका वेफाइदाका बारेमा जनचेतना फैलाउनु आवश्यक रहेको सोही क्षेत्रमा कार्यरत अनुभवीहरुको सुझाव रहेको छ । 

No comments:

Post a Comment