सुर्खेत, २० मंसिर ।
वीरेन्द्रनगर–११ की बालिकाकुमारी सारु विगत १६ बर्षदेखि महिला स्वास्थ्य स्वयंसेविका भएर आफ्नो समाजमा सेवा गर्दै आएकी छन् । अहिले ५० बर्ष उम्मेरकी सारुलाई अरुको सेवा गर्ने काममा उम्मेरले छेकेको छैन र उनी जुनबेला जसलाई समस्या पर्छ त्यतिनै बेला समुदायमा उपस्थित हुन्छिन् ।
‘निस्वार्थ सेवा भावले यस क्षेत्रमा लागियो’ उनले भनिन्, ‘‘दुःखलाई सुःख ठानेर काम गरियो भने आनन्द आउँछ ।’ उनले थपिन, ‘गाउँमा सेवक भनेर चिन्छन् राम्रो मान्छेहरुले सम्मान गर्छन, मैले पनि रात–दिन नभनि काम गरिरहेको छु ।’ उनको विचारमा प्रशव पिडामा रहेकी महिला दिदिवहिनीहरुलाई सेवा गर्दा प्राप्त हुने आनन्दको अनुभूति अन्य कुनै क्षेत्रमा पनि छैन् ।
अरुको सेवा गर्ने स्वयंसेविकालाई उनीहरुको आफ्नो स्वास्थ्य तथा रोजी रोटीको ग्यारेन्टी सरकारले गर्न नसकेको उनको भनाई छ । टिकाकुमारी अधिकारी वीरेन्द्रनगर–१ मा स्वयंमसेविकाको क्षेत्रमा परिचत अर्काे नाम हो । हाल ३२ बर्षकी अधिकारीले १४ बर्ष सेवामा विताइ सकेकी छन् ।
समाजका अरु सामान्य महिला भन्दा आफूलाई विश्वास गर्ने हुनाले सेवाको क्षेत्र भन्दा आनन्द अनेत्र नभएको विचार व्यक्त गर्छिन् । भोको पेटले सेवा गर्न नसकिने बताउँदै सरकारले सेवामा खटिँदा खाजासम्मको भएपनि व्यवस्था गर्नुपर्ने उनको भनाई छ । निस्वार्थ भावनाले सेवामा लागेको बताउँदै उनले उनीहरुको स्वास्थ्य र जीवनरक्षा गर्नु सरकारको दायित्वका रुपमा लिनुपर्ने उनको धारणा छ ।
वीरेन्द्रनगर–९ की शोभा देवकोटासँग भने स्वयंसेविका भएर सेवा गरिरहँदा थुप्रै तिता मिठा अनुभवहरु छन् । निस्वार्थ सेवामा खटिएकी आफूलाई समुदायकै केही व्यक्तिहरुले पैसा कमाउन स्वयंमसेविका भएको आरोप लगाउँदा नरामाइलो लाग्ने गरेको उनी बताउँछिन् । समाजमा राम्रा र नराम्रा सोच भएका उत्तिकै व्यक्ति हुने भएकाले सेवा गर्दा राम्रा नराम्रा दुबै किसिमका अनुभव संगालेको उनको भनाई छ ।
वीरेन्द्रनगर–३ की विनीता विकको पनि स्वयंसेविका भएर काम गर्दा राम्रा र नराम्रा त्यत्तिकै अनुभवहरु छन् । निःशुल्क सेवा गरेकी आफूलाई पैसा कमाउनेको नजरमा हेरेको देख्दा मन दुख्ने भएपनि राम्रो सोच भएका मान्छेले सम्मान गर्दा आनन्द आउने उनी बताउँछिन् । उत्कृष्ट काम गरेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले बिहिबार उनीहरु सहित वीरेन्द्रनगर–४ की यामुकुमारी तेलाङ्गीलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय स्वयंसेवा दिवसको सन्र्दभमा उनीहरुलाई सम्मान गरिएको हो ।
विश्व स्वयंसेवा दिवसको सन्दर्भमा वीरेन्द्रनगर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेत र कटकुवा स्वास्थ्यचौकीले सयुक्त रुपमा ¥यालीको आयोजना गरिको थियो । ¥यालीमा जिल्ला स्वास्थ्य प्रमुख टंकप्रसाद चापागाई, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका सभापती लिलाराम सुवेदी, राष्ट्रिय योजना आयोगका थानेश्वर भुसाल र नगरापालिकाका प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment