Saturday, December 14, 2013

वीरेन्द्रनगर बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा हस्तान्तरण कार्यक्रमको कार्यपत्र

(शनिबार सम्पन्न बहुमुखी क्याम्पस म.प. विश्वविद्यालयमा हस्तान्तरण कार्यक्रमा क्याम्पस प्रमुख लीलाधर तिवारीद्वारा प्रस्तुत प्रतिवेदन)
यस वीरेन्द्रनगर बहुमुखी क्याम्पसको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा हस्तान्तरण कार्यक्रममा अध्यक्षता गरिरहनु भएका यस क्याम्पस व्यवस्थापन समितिका आदरणीय अध्यक्ष भूषणकुमार मानन्धरज्यू, प्रमुख अतिथि आदरणीय मोतिप्रसाद सापकोटाज्यू, संविधान सभाका माननीय सभासद्ज्यूहरू, विशिष्ट अतिथि आदरणीय उपकुलपति प्रा.डा. पदमलाल देवकोटाज्यू,  भूतपूर्व मन्त्रीज्यू, तथा भूतपूर्व संविधान सभाका सभासद्ज्यूहरू म.प. विश्वविद्यालयका रजिष्ट्रारज्यू, विभिन्न संकायका डिनज्यूहरू, व्यवस्थापन समितिका सदस्यज्यूहरू, सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, क्याम्पस व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष तथा सदस्यज्यूहरू, विभिन्न कार्यालयका कार्यालय प्रमुखज्यूहरू, विभिन्न क्याम्पसका अध्यक्ष तथा क्याम्पस प्रमुखज्यूहरू, म.प. विश्वविद्यालयका विभिन्न संकायका प्राज्ञिक निर्देशक पूर्व क्याम्पस प्रमुखज्यूहरू, उच्च मा.वि.का अध्यक्ष तथा प्राचार्यज्यूहरू, आदरणीय वरिष्ठ प्राध्यापकज्यूहरू, सहकर्मी विद्धान् प्राध्यापक मित्रहरू, यस क्याम्पसको समग्र विकासमा अहोरात्र परिश्रम गर्नु भएका कर्मचारी मित्रहरू, आदरणीय अभिभावकज्यूहरू तथा उपस्थित पत्रकारज्यूहरू, शिक्षाप्रेमी दाजुभाइ तथा दिदी बहिनीहरू, वर्तमान तथा भू.पू. स्व.वि.यू. सभापतिज्यूहरू तथा उच्च शिक्षा हासिल गर्ने महान् आकांक्षा बोकेर यहाँ आउनु भएका भविष्यका कर्णधार विद्यार्थी भाइबहिनीहरू †

उच्च शिक्षा प्राप्तिको आकांक्षालाई सहज रुपमा परिपूर्ति गर्ने उद्देश्य राखी २०३८ सालमा यस क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा आमजनसमुदायको सतप्रयासबाट स्थापना तथा संचालन भएको यो वीरेन्द्रनगर बहुमुखी क्याम्पस राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत खरो रुपमा उत्रन सक्ने सक्षम उच्च जनशक्ति उत्पादन गर्ने स्थलको रुपमा विकास गर्दै युगानुकूल प्राविधिक शिक्षासमेत विस्तार गरी सुसंगठित व्यवस्थापन एवम् सम्पूर्ण भौतिक पूर्वाधारहरूको निर्माण गरेर भविष्यमा यस क्षेत्रका जनतालाई लाभान्वित गर्ने उद्देश्य राख्दै यस संस्थालाई विश्वविद्यालयका रुपमा विकसित गर्ने लक्ष्य अनुरुप वर्तमान समयमा आएर मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसका रुपमा स्थापित हुन पुगेकोमा यस क्षेत्रका समग्र शिक्षाप्रेमीहरू गौरवान्वित भएका छौं । झण्डै ३२ वर्षको शैक्षिक यात्रामा यस क्याम्पसले आफ्नै खालका आरोह अवरोहहरू पार गर्दै आफ्नो अग्रगतिलाई सदैव अगाडि बढाउदै जाँदा यो क्याम्पस यस अवस्थामा आउन सकेको हो । मध्यपश्चिम क्षेत्रको केन्द्रबिन्दुको रुपमा रहेको यो क्याम्पस विश्वविद्यालयको रुपमा स्थापना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै विश्वविद्यालय अनुदान आयोग र राष्ट्रका प्रतिष्ठित प्राज्ञहरूबाट दोस्रो उच्च शिक्षा परियोजना अन्तरगत समूह ‘क’ को विश्व बैङ्कको अनुदान रकम पाउनेमा यस क्याम्पसलाई छनौट गरिएको र परियोजना मिति २०६४÷४÷७ गतेदेखि २०६९ आषाढ मसान्तसम्म ५ वर्ष लागु भयो । उक्त परियोजना लागु भएदेखि धेरै राम्रा कामहरू हुँदै गएका थिए । जस अन्तरगत क्याम्पसको कम्पाउडिङ्ग, चौकीदार बस्ने भवन, क्यान्टिन, शैक्षिक भवन निर्माण हुनका साथै पुस्तकालय र फर्निचर समेत परियोजनाको माध्यमबाट राम्रो व्यवस्थापन गर्न सकिएको थियो ।
 यहाँ कार्यरत प्राध्यापकहरूले विद्वत्वृत्तिका लागि एम्.फिल. र विद्यावारिधि गर्ने अवसर प्राप्त गर्नु भयो । सम्झौतामा उल्लेखित रकम भन्दा धेरै नै न्यून रकम मात्र हामीले ल्याउन सकेका थियौं । जसको कारक तत्व भनेको विश्वबैंङ्कले राखेका विभिन्न मापदण्डहरू पुरा गर्न नसक्नु थियो । यस क्याम्पसको हालसम्मको कुल स्थायी सम्पत्ति रु.१४,७३,४६,६९४।५१, विभिन्न बैंक चल्ति खाताहरुमा रु.२७,७१,८४२।७१, दाताहरुबाट छात्रवृत्ति कोषमा जम्मा रकम रु.१,८८,००१।–, क्याम्पसबाट विद्यार्थीहरुको लागि छात्रवृत्ति तथा अन्य गरी मुद्दती खातामा रु.४५,२५,०००।– र उपदान कोष खातामा रु.३६,०५,५६८।८९ बाँकी रहेको छ । उपदान कोष खातामा ऋण सापटी रु.६२,०१,५०४।– रहेको छ । विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुन बाँकी रकम रु.१,०४,४२,६७७।८० छ । कविर जे.भी. निर्माण सेवा तथा अन्य व्यक्तिहरुको नाममा गरी जम्मा रकम रु.३०,४७,२९१।६४ पेश्की बाँकी रहेको छ । कविर जे.भी. निर्माण सेवालाई रु.११,४९,४६९।६३ भुक्तानी दिन बाँकी रहेको छ । यस क्याम्पसको चल–अचल सम्पत्ति तथा दायित्वहरूहरुको बारेमा विस्तृत जानकारीको लागि लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । 
यस क्षेत्रका जनताहरूको इच्छा, आकांक्षा, चाहना र आवश्यकताको सम्मान गर्दै राजनैतिक दल, यस जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने माननीय सभासद्ज्यूहरूको अथक प्रयास र मेहनतबाट नेपाल सरकारले २०६७ असार ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ व्यवस्थापिका संसदबाट पारित गराई यस क्षेत्रले विश्वविद्यालय प्राप्त गर्न सफल भयो । यसका लागि तत्कालीन नेपाल सरकार व्यवस्थापिका संसद, राजनैतिक दलहरू, माननीय सभासद्ज्यूहरू, सुर्खेती जनता, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, विद्यार्थीवर्ग सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । म.प. विश्वविद्यालयको ऐनमा व्यवस्था भए अनुसार यस वीरेन्द्रनगर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आधार क्याम्पसको रुपमा समायोजन गरी हस्तान्तरण गर्न पाउँदा क्याम्पस परिवार अत्यन्तै गौरवान्वित भएका छौं । भौगोलिक रुपमा विकट र पिछडिएको मध्यपश्चिम क्षेत्रकै शिक्षाको केन्द्रबिन्दुका रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सफल हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु र यो अभूतपूर्व कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिगण तथा सज्जनवृन्दप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । धन्यवाद !

No comments:

Post a Comment