निःशुल्क पाउने सेवामा शुल्क लगाइयो
गोविन्द खत्री ,
सुर्खेत, ८ पुस ।
नेपाल सरकारले स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने घोषणा गरेको छ । निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत नाम लेखाउन, सामान्य जाँच गर्न र तोकका औषधी समेत निःशुल्क व्यवस्था गरेको भएपनि प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा भने विरामी जाँचका लागि पैसा तिर्नुपरेको स्थानीयवासीहरुले गुनासो गरेका छन् ।
स्थानीयवासीहरुका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरले विरामीको नाम लेखाउनका लागि एक पटकमा दश रुपैयाँ लिने गरेको छ । निःशुल्क पाउनु पर्ने सुविधाका लागि पनि पैसा लिएकाले आफूहरुले कुरा उठाउँदा सुनुवाइ नभएको दशरथपुर–४ की गोमा आचार्यले बताइन् ।
स्वास्थ्य केन्द्रका इन्चार्ज वीरबहादुर रुचालले पनि आफूहरुले विरामीको नाम लेखाउनका लागि दश रुपैयाँ लिने गरेको स्वीकार गरे । एक पटकमा नाम लेखाएपछि पुनः सोही कार्ड साथमा लिई आएमा पुनm नाम लेखाउनु नपर्ने बताउँदै व्यवस्थापन समितिको निर्णय अनुसार गत भदौं महिनाबाट शुल्क लिने गरेको रुचालले बताए ।
‘निशुल्क हो भन्दैमा मानिसहरुले लापरवाही गर्न थाले’ उनले भने, ‘साँचिकै बिरामी भएको मान्छेले त दश रुपैयाँ तिर्न नसक्ने भन्ने हुदैन नि ।’ निःशुल्क पाएपछि विरामी नभएकाहरुले पनि वाहानाबाजी गरेर औषधी लिने तर प्रयोग नगरी खेर जाने गरेको पाइएको उनले जनाए ।
कृत्रिम बिरामी बनेर उपचारमा आउने हुँदा उनीहरुलाई दिएको औषधी काम नलाग्ने हुने तर वास्तविक विरामीहरुलाई औषधी अभाव हुने बताउँदै इन्चार्ज रुचालले आफूहरुले दिने कार्ड वापतको दश रुपैयाँ लिने गरेको उनको भनाई रहेको छ ।
शुल्क लिने गरेपछि अनावश्यक औषधी लिनेहरुको संख्या घटेकोले विरामीको संख्यामा पनि कमी आएको तर वास्तविक विरामीहरु मात्रै आउँने गरेको उनले जनाए । दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गत बर्ष १५ हजार तीन सय विरामीहरु उपचारका लागि आएको तथ्याङ्क छ । इन्चार्ज रुचालका अनुसार चालु बर्षको साउन महिनामा १८ सय दुई, भदौमा १३ सय ८४, असोजमा एक हजार २१, कार्तिकमा छ सय ५६ र मंसिर महिनामा ७ सय ६१ जना विरामीले उपचार गराएका छन् ।
विरामीको संख्यामा आएको कमी शुल्कका कारण नभई साउन भदौमा अलि बढी विरामी हुने र चिसो महिनाहरुमा विरामी नै कम हुने भएकाले संख्यामा कमी आएको रुचालले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाईले भने शुल्क लिएको विषयमा छलफल गरिने बताएका छन् ।
नेपाल सरकारले २०६४ सालदेखि स्वास्थ्य, उप–स्वास्थ तथा प्राथमिक स्वास्थ्य चौकीहरुमा नाम लेखाउन निःशुल्क व्यवस्था गरेको स्मरण गराउँदै प्रमुख चापागाईले निःशुल्क गरिनुले केही असहजता ल्याएको पनि दाबि गरे । ‘निःशुल्क भनेपछि केही नभएकाले पनि जाँच गराउँदा समय र औषधीको खर्च भएको छ’ प्रमुख चापागाइले भने, ‘शुल्कै तीर्न नसक्नेलाई अनिवार्य नगर्ने गरी सामान्य केही नियम बनाउन आवश्यक छ ।’
राज्यले सबै प्रकारको स्वाथ्य सेवा निःशुल्क गर्नु पर्छ भन्ने आफूहरुको माग भएपनि व्यवस्थापन समितिले सामान्य शुल्क लिने कुरालाई अन्यथा मान्न नहुने उनको भनाई रहेको छ । अर्का एक स्वास्थ्यकर्मी रामघाट स्वास्थ्य चौकीका इन्चार्ज मानसिंह नेपाली आफ्नो संस्थामा पनि औषधी लिएर प्रयोग नगर्ने तथा निःशुल्क भनिएकाले अनावश्यक रुपमा पनि स्वास्थ्य संस्थामा आउने र पुरानो कार्र्ड पुनः आउँदा नल्याउने समस्या भएको बताउँदै शुल्क लिने वा अन्य कुनै नियम बनाउने भन्ने विषयमा सोच्न जरुरी रहेको तर्क गर्छन् । अझै पनि सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउँदै सरकारले दिएको सुविधा समेत स्थानीयले बञ्चित गर्नु उचित नहुने कतिपयको तर्क रहेको छ ।
No comments:
Post a Comment