सुर्खेत, १३ फागुन ।
सुर्खेतको साटाखानीमा रहेको नमूना पशुपालन, दुग्ध उत्पादन तथा विक्री समूह नामजस्तै साँच्चिकै नमूना बन्न थालेको छ ।
तीनजनाबाट शुरु गरिएको समूहमा अहिले २० जनाभन्दा बढि आवद्ध रहेका छन्, भने कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न विभीन्न क्रियाकलाप सञ्चालन गर्ने गरिएको हो । समूहले कृषकलाई प्रत्साहन दिनका लागि उत्कृष्ट कृषकका रुपमा पुरस्कृत गरेकोसमूहका अध्यक्ष उमा ठाडामगरले बताइन् । वि.सं. २०६९ सालका एकजना उत्कृष्ट कृषकका रुपमा बलबहादुर सलामीमगरलाई सम्मान गरिएको समूहका अध्यक्ष ठाडाले जानकारी दिइन् । अवको वर्षमा भने उत्कृष्ट तीन जना कृषकलाई सम्मान तथा पुरस्कृत गर्ने योजना रहेको ठाडाको भनाई छ । माशिक रुपमा वचतको व्यवस्था गर्दै कृषकलाई परेको बेला ऋणको व्यवस्था गर्ने काम पनि समुहले गरेको छ । फ्याट गुणस्तर नाप गरेर प्रतिलिटर ३० देखि ३५ रुपैयाँमा समूहमा दुध खरिद गर्ने गरिएको छ ।
समूहले ६ महिनाको अवधीमा ४६ हजार नौ सय ४६ लिटर दुध विक्री गरेको छ । गत भदौ १ गतेदेखि माघ मसान्तसम्मको हिसावअनुसार चार लाख ८३ हजार पाँच सय ८२ रुपैयाँ दुध विक्रीवापत् भित्राइएको समूहले बताएको हो । साटाखानी गाविस वडानम्वर ४ मा संकलन केन्द्र स्थापना गरि वीरेन्द्रनगर नगरपालिका वडानम्वर १० खजुरामा समूहको विक्री केन्द्र स्थापना गरिएको छ । यसअघि परिक्षणको रुपमा मात्र उत्पादन तथा विक्री समूह बनाइएपनि अहिले जिल्ला पशु सेवा कार्यालय सुर्खेतमा समूह दर्ता प्रक्रिया अघि बढाइएको समूहका अध्यक्ष ठाडामगरले बताइन् ।
No comments:
Post a Comment