सुर्खेत, १२ फागुन ।
सुर्खेतलगायत धेरैजसो जिल्लामा हुने धेरैजसो विवाहहरु कानूनविपरित हुने गरेका पाइएको छ ।
२०३३ सालमा बनेको सामाजिक सुधार ऐनमा उल्लेख गरिएभन्दा धेरै जन्ती र धेरै भन्दा धेरै दाइजो प्रथाको चलन रहेकाले विवाहहरु कानूनविपरित हुने गरेका हुन् ।
दाइजो निषेध र छोरीको अंशाधिकार शीर्षकमा ऐनमा छोरीलाई दिने उपहारहरुमा एक दुई जोर लुगा–गहनाहरुबाहेक अरु दिन नहुने उल्लेख गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताए ।
ऐनमा विवाहमा फजुल खर्च रोक्नेबारे विवाहमा २५ जवानभन्दा बढी जन्ती लैजान र ५ सय रुपैयाँ भन्दा बढी खर्च गर्न नहुने उल्लेख गरिएको छ । ऐनको विरुद्ध आचरण गर्नेलाई ५ सयदेखि ५ हजार रुपैयाँसम्म दण्ड हुन्छ ।
दाइजो दिनेलाई तीन महिना र दाइजो लिनेलाई ६ महिना कैद हुने व्यवस्था नै कानूनले गरेको छ । तर लाखौँ रुपैयाँको खर्च गरेर सन्तानको विवाह गरिदिनेहरु पनि सुर्खेतमा छन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार अहिलेसम्म जिल्लामा ठूलो भोज भतेर वा विवाहमा दाइजो धेरै दिएको भन्दै कारबाही भने गरिएको छैन ।
यदि कसैले निवेदन दिएर प्रक्रिया अघि बढाउन भनेमा आफुहरु कारबाही अघि बढाउन भने तयार रहेको प्रमुख जिल्ला अधिकारी कँुवरले बताए ।
निवेदन नपरे पनि कहिलेकाँहि ठूलै भोज भतेर भएमा प्रशासन आफै कारबाहीका लागि उत्रिनसक्ने चेतावनी पनि कुँवरले दिएका छन् ।
No comments:
Post a Comment