Saturday, February 15, 2014

कृषि बिमा कार्यक्रममा किसानको चासो बढेन

काठमाडौं, ३ फागुन ।
कृषि तथा पशु बिमा कार्यक्रममा किसानको चासो बढ्न नसक्दा सरकारले दिने भनेको अनुदान पनि खर्च हुन सकेको छैन । यो आर्थिक वर्षमा कृषि बिमाका लागि अनुदान दिन सरकारले छुट््याएको १३ करोड मध्ये २५ लाख मात्रै खर्च भएको छ । कृषि तथा पशु बिमा गर्दा लाग्ने प्रिमियमको ५० प्रतिशत सरकारले अनुदान दिने ब्यवस्था छ ।
यो वर्ष २६ करोडको कृषि बिमा गर्ने लक्ष्य अनुसार सरकारले अनुदानका लागि १३ करोड छुट्याएको  थियो । अहिलेसम्म १ सय ७८ किसानले मात्रै आफ्नो कृषि बाली तथा पुशको बिमा गराएको कृषि मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुईंटेलले जानकारी दिए ।
कृषि बिमाको फाइदाबारे किसानसँग अझै पनि राम्रोसँग ज्ञान नपुगेकोले बिमा गर्नेहरु बढ्न नसकेको उनले बताए । आफ्नो खेती तथा पशुपालनमा क्षति भयो भने क्षतिपूर्ति माग्ने प्रवृत्ति रहेको भन्दै उनले अब क्षतिपूर्ति माग्नु भन्दा बिमा गराउन किसानलाई प्रोत्साहित गर्नु पर्ने बताए  ।
कृषि बिमाको जिम्मा लिएका १७ वटा निर्जिवन बिमा कम्पनिले एजेन्टहरुलाई कृषि बिमाबारे तालिम पनि सुरु गरेकोले अब किसानमा यसबारे सूचना पुग्ने र बिमा गर्नेहरु बढ्ने सहप्रवक्ता लुईटेलले बताए ।
बिमा समितीले कृषि क्षेत्रको जोखिम कम गर्न बाली तथा पशु बिमा निर्देशिका जारी गर्दै धानबाली, पशुधन, पन्छी, फलफुल, आलु, तरकारीखेती, माछापालनमा बिमा गर्न बिमा कम्पनिलाई निर्देशन दिएको थियो ।

No comments:

Post a Comment