Wednesday, February 26, 2014

ढाका उद्योगमा महिलाको आकर्षण

विनोद लम्साल 
फागुन १३ सुर्खेत ।
ढाका बुनाई पछिल्लो समय सुर्खेतका महिलाहरुको आकर्षणको पेशा बनेको छ ।
 हाल ढाका उद्योग सञ्चालन गरेर सुर्खेतका ५ दर्जन बढी महिलाहरु स्वरोजगार बनेका छन् । वीरेन्द्रनगर ५ चिसापानी, उत्तरगंगा, लाटिकोइली लगायतका गाविसका महिलाहरुले सामुहिक रुपमा ढाका उद्योग सञ्चालन गरी आयआर्जन गर्दै आएका छन् । 

ढाकाका विभिन्न सामाग्रीहरु उत्पादन गरेर यहाँका महिलाहरुले मासिक ४ हजार  देखी १२ हजार रुपैयासम्म आम्दानी गर्ने गरेका छन् । केही समयअघिसम्म घरायसी काममा मात्र व्यस्त रहेने महिलाहरुका लागि ढाका आम्दानीको भरपर्दो स्रोत बनेको जिल्ला लघु उद्यमी समुह संघ सुर्खेतले जनाएको छ ।
लघु उद्यम विकास कार्यक्रमको सहयोगमा उद्योग सञ्चालन गरेका उद्यमी महिलाहरुले जीविकोपार्जनका लागि सहज भएको बताएका छन् । ढाका उद्योगबाट प्रत्यक्ष रुपमा ५ दर्जन र प्रत्यक्ष रुपमा थुपै महिलाहरुले रोजगारी पाएका संघका जिल्ला कार्यक्रम संयोजक ओमप्रकाश थापाले जानकारी दिए । लघु उद्यमीहरुले आफै घरमा तान राखेर समेत ढाकाका कपडा  निर्माण गरिरहेको उनले जनाए ।
विशेष गरि ढाकामा कम आयस्तर भएका तथा घरको कामबाट बचेको समयलाई सदुपयोग गरि आर्यआर्जन गर्ने महीलाहरु रहेका छन् । ढाका कपडा विपन्न समुदायका मीिलाहरुको आम्दानीको भरपर्दो स्रोत बनेको संयोजक थापाले जनाए । 
ढाकाबाट महिलाहरुले चोलो, टोपी, पछ्यौरा, साडी, सर्ट, गलबन्दी लगायतका सामाग्री निर्माण गर्दै आएका छन् । घरायसी काम सकेर पनि ढाका बुनाइबाट थप आम्दानी गर्न सफल भएको सुर्खेती ढाका लघु उद्यमी समूह सुर्खेतकी सदस्य डम्मर शाहीले बताइन् । उनले ढाका बुनाइबाट आम्दानी हुन थालेपनि घर खर्च चलाउन श्रीमानको मुख ताक्नु नपर्ने पनि बताइन् । पहिले सानो तिनो घर खर्च चलाउनका लागी श्रीमानको मुख ताक्नु पथ्र्यो तर हिजोआज कसैसग हात थाप्नु पर्देन उनले भनिन् । उनको समूहमा ७ जना महिला सदस्यहरु रहेका छन् । 
निकास ढाका उद्यमी समुह उत्तरगंगामा आवद्ध ५ जना महिलाहरुले पनि व्यवसायिक रुपमा ढाका उद्योग सञ्चालन गरेका छन् । आफ्नो घरायसी काम तथा आफुलाई चाहिने काम गर्नका लागी अरुको भर पर्नु नपर्ने निकास ढाका उद्यमी समुहकी सदस्य कमला चौधरीले बताईन् । आफुहरुले उत्पादन गरेका सामानहरु उत्पादन गरेका तयारी कपडा सुर्खेतको वीरेन्द्रनगरमा खपत हुने गरेका छन् । सर्खेतमा उत्पादन गरेका तयारी वस्तु  दाङ्ग सम्म पुग्ने गरेको  छ । ढाका उद्योगका लागी आवश्यक कच्चा पदार्थ  विराटनगर तथा विरगंजवाट  आउने गरेको उद्यमीहरुको भनाई छ । सुर्खेतमा सुर्खेती ढाका लघु उद्यमी समुह वीरेन्द्रनगर, निकास ढाका उद्यमी समुह, नेपाल मगर महिला संघ सुर्खेतले समेत ढाकाका तयारी सामान उत्पादन गरि विक्री वितरण गर्ने गरेका छन् ।

No comments:

Post a Comment